
हेटौँडा । वागमती प्रदेश सरकारले दुईवटा अध्यादेश पुनः जारी गर्ने निर्णय गरेको छ । मंगलाबार दिउँसोको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश ल्याउने निर्णय गरेको हो । यसअघि ४ अध्यादेश ल्याइएकोमा ६० दिनभित्र सदनबाट पारित हुन नसक्दा ती अध्यादेश ‘एक्सपाएर’ भएका थिए ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पुनः जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।



सरकारले यसअघि प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई समेत प्रतिस्थापन विधेयक ल्याएर पारित गर्न सकेको थिएन ।
