
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा मुख्यगरी दुईवटा आधारमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर गृहकार्य सुरु गरेका बेला नेता खनालले प्रधानमन्त्री देउवा समक्ष यस्तो प्रस्ताव अघि सारेका हुन् ।मंगलबार बिहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेता खनालले सिट बाँडफाँट न्यायोचित ढंगले हुनुपर्ने भन्दै दुईवटा आधार अघि सारेका हुन् । ‘गठबनधनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ । भदौ पहिलो साताभित्र सिट बाँडफाँटको मोडालिटी कार्यदलले तय गर्छ’, नेता खनालले भने, ‘यसमा सामान्यतया सन्दर्भ सामग्री २०७४ सालको निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई सन्दर्भ सामग्री बनाउनुपर्छ ।’

पुर्व प्रधानमन्त्री समेत रहेका खनालले सम्मानजनक ढंगले सिट बाँडफाँड नभए गठबन्धनको औचित्य नहुने समेत बताए । ‘गठबन्धन भनेको कसैले कसैलाई पेलेर आफु पछाडि धकेल्न खोज्यो भने त्यो गठबन्धन हुदैन । त्यो त बलबन्धनमात्रै हुन्छ’, खनालले रातोपाटीसँग भने,‘ गठबन्धन गर्ने हो र बलबन्धन नगर्ने हो भने हामीले सवैलाई सम्मानजनक ढंगले सिट विभाजन गरेर अघि बढ्नुपर्छ ।’



साथै उनले प्रधानमन्त्रीसँगको भेटमा कार्यदललाई चाँडो काम गर्न लगाएर सिट तालमेलको मोडालिटीबारे प्रस्ट हुनुपर्ने बताए । ‘कार्यदलले भदौको पहिलो हप्ता प्रतिवेदन तयार गर्ने भनेको छ । तर त्यो भन्दा अघि नै सक्नेगरी काम गर्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई पनि भनेको छु’, खनालको भनाइ छ ।

गत साउन २० गते बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा काँग्रेसका पुर्व महामन्त्री कृष्ण सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र हिमलाल पुरी रहेका छन् ।