कबड्डी-४ लाई सिक्किममा प्रदर्शन प्रतिबन्ध

काठमाडौँ — सिक्किम सरकारले कबड्डी-४ को प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, ‘विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी-४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बिज्ञापन

नेपालमा जेठ १३ गते रिलिज भएको कबड्डी-४ सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा जुन १७ मा रिलिज गर्ने तयारी थियो । तर सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरू भने कबड्डी-४ को प्रदर्शनमा रोक लगाउनुपर्ने माग राख्दै आएका थिए । उनीहरूले पत्रकार सम्मेलन नै गरी कबड्डी-४ को प्रदर्शनमा रोक नलगाइए हलमा हुने तोडफोड र क्षतिको जिम्मेवारी आफूहरूले नलिने बताएका थिए ।

पत्रकार सम्मेलनमा सिक्किमका बौद्ध भिक्षु ओन्डी पिन्टोले भनेका थिए, ‘चलचित्रमा दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्ण लामाहरूको आस्थामा ठेस पुर्‍याएको छ । यो वास्तवमै बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय हो । यसबारेमा सबैले आवाज उठाउनुपर्छ । हामी नेपालमा पनि यो विवाद समाधान होस् भन्ने चाहन्छौँ ।’