माओवादी केन्द्रमा सहमतिको प्रयास जारी, केन्द्रीय सदस्यको टुंगो स्थायी कमिटीले लगाउने

काठमाडौँ : नेकपा माओवादी केन्द्रमा सहमतिमा नयाँ कार्यसमिति चयनको प्रयास जारी छ। निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्।

आज दिउँसो मतदान गर्ने गरी शनिवार निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेपनि सहमतिको प्रयास गर्ने भन्दै कार्यक्रम शुरू भएको छैन।

बिज्ञापन

आइतवार दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।

आइतवार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले सहमतिमा नेतृत्व चयन गर्ने या निर्वाचनमा जाने भन्नेबारे निर्णय लिने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

आजको बैठकले केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गरी अन्तिम टुंगो लगाउने साहको भनाइ छ। माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने अन्योलले महाधिवेशन लम्बिएको छ ।

आज दिउँसो १ बजेसम्म पनि सहमतिमा चयन गर्न नसके २ बजेदेखि निर्वाचन प्रक्रियामा जाने भन्दै शनिबारको बन्दसत्र स्थगित भएको थियो।