
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन समारोह जारी छ ।

महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल पुगेका छन् ।



यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगेका छन् ।जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ति शाहीलगायत नेताहरू उद्घाटन समारोहमा अतिथिका रूपमा पुगेका छन् ।५ दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब १६०० प्रतिनिधि सहभागी छन् । यो महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेता उपस्थित छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झापामा रहेका कारण उनी सहभागी छैनन् । माओवादी अध्यक्ष प्रचण्डले बिहान ओलीलाई टेलिफोन गरी महाधिवेशनको निम्तो दिएका थिए ।राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको माओवादी शनिबार कार्यक्रमलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।