
काठमाडाैँ : राष्ट्रियसभाका सदस्य चुन्न आगामी माघ १२ गते गरिने चुनाव प्रयोजनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।आयोगले आज (बिहीबार) सूचना प्रकाशन गरी आज (पुस १) देखि पुस १० गतेभित्र दल दर्ताका लागि तोकिएको ढाँचामा आवेदन दिन आयोगले आयोगमा दर्ता कायम राजनीतिक दलहरूलाई आग्रह गरेको हो।

निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रममा उल्लेख छ ।



राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जना चुन्न चुनाव गर्न लागिएको हो। पद रिक्त हुनुभन्दा ३५ दिन अगाडि नै पूर्ति गर्नुपर्ने प्रावधान छ। एक जना भने मनोनीत गर्ने व्यवस्था छ।

