पार्टीभित्र सहमति, सहकार्य र एकताको खाँचो छ : सुजाता कोइराला

काठमाडौँ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् ।

कांग्रेसको उपसभापतिमा पराजित नेत्री कोइरालाले बिहीवार एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधिको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताइन् ।

बिज्ञापन

‘कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ,’ विज्ञप्तिमा भनिएको छ । नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको संघर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधैं प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताए ।

नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् ।