काँग्रेसको १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने

काठमाडौंँ : नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो। निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने छ ।

काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन भएको छ । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । उक्त जिल्लामा पनि अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

बिज्ञापन

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशन सम्पन्न नभएका १६ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

कांग्रेसले विहीबार ७ वटै प्रदेशको अधिवेशन सुरू गर्दैछ । दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक सातै प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ गतेबाट सुरु हुनेछ ।