नेपालमा छिट्टै चुनाव हुनेवाला छैन : माधव नेपाल

काठमाडौ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन्।मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरे।

‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने। नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे। ‘पाँच दलको गठबन्धन बलियो हुनेछ। पाँच दलीय गठबन्धन कसैले भत्काउन सक्दैनन्,’ उनले भने। विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ ।’

बिज्ञापन

एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ– जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’