
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।
भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास विकसित न्यून चापिय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावको कारण गएराति देखि नै नेपालको मौसम बदली भएको हो ।
गए रातिदेखि बागमती प्रदेश, प्रदेश १, २ र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षासँगै कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यो क्रम अबको दुईतीन दिनसम्म निरन्तर जारी रहने छ ।

बिहानदेखि परिरहेको पानी केहीबेर रोकिए पनि दिउँसो पछि फेरि पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।
उनका अनुसार भोलि देशैभर पानी पर्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ ।
यस्तै, उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासहित हिमपातको सम्भावना छ । आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।



धेरै स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साथै, दशैँका लागि गाउँ घर गएकाहरु पनि काठमाण्डौ उपत्यका फर्किदै छन् । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न पनि महाशाखाको सुझाव छ ।
