सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरू

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ ।
मन्त्रिमण्डल विस्तार अघि सत्तारुढ दलका नेताहरु मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन छलफलमा बसेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले सबै दलबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४–४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पनि पाउनेछन् ।

बिज्ञापन

सरकार गठन भएको तीन महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।
माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। यस्तै नेकपा एकीकृत समाजवादीले पनि विहीबार मध्यान्ह बसेको स्थायी कमिटीले नाम टुंगो लगाएको छ।
उता जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ। अहिलेको बैठकमा केही मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ।
गठबन्धनबीचमा कुन दलले कुन कुन मन्त्रालय लिने समझदारी भएपनि केही मन्त्रालयका विषयमा एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन्।