
काठमाडौँ : नेकपा ( एकीकृत समाजवादी ) प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । माधवकुमार नेपाल नेतृत्वमा रहेको नवगठित एकीकृत समाजवादीको सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले फुटेपछि निर्वाचन आयोगले मान्यता दिएपछि प्रदेश १ मा समाजवादीका नेता राई चयन भएका हुन् ।

राई सर्वसम्मत रुपमा दलको नेता चयन भएको सोही पार्टीको सांसद् सावित्रा कुमारी रेग्मीले जानकारी दिइन्। प्रदेश संसद् सचिवालय आजै जानकारी गराइने रेग्मीले बताइन्। राई नेकपा एमालेको तर्फबाट भोजपुर बाट निर्वाचित भएका थिए। एमाले विभाजित भएर गठन भएको एकीकृत समाजवादीका प्रदेश १ मा १० जना सांसद् छन् । राई दलको नेता चयन भएसँगै एकीकृत समाजवादीले मुख्यमन्त्री भीम आचार्यलाई आफूहरुको समर्थन नरहेको पत्र पठाउने तयारी भएको सांसद राजन राईले बताएका छन् ।



प्रदेशसभा सदस्यहरुले समाजवादीको पक्षमा गरेको सनाखतलाई निर्वाचन आयोगले शुक्रबार सदर गरेको छ। प्रदेश १ मा राजेन्द्रसहित राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङमाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा समाजवादीतिर लागेका छन् । यसअघि एमाले विभाजित नहुँदाको अवस्थामा बहुमत प्राप्त दलको नेताका भीम आचार्य मुख्यमन्त्री बनेका थिए। एमालो १० सांसदले छाडेपछि आचार्य अल्पमतमा परिसकेका छन् ।

यस्तो अवस्थामा उनले असोज ९ भित्र संसदमा विश्वासको मत लिनुपर्छ। यसअघि भोजपुरबाट निर्वाचित शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएर आचार्यलाई गत भदौ १० गते उक्त पद हस्तान्तरण गरेका थिए। अल्पतमा परेकाले अब आचार्यले विश्वासको मत लिनै पर्ने बाध्यता छ।