नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल भएको छ । शनिबारदेखि  हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन बिनै सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटीमात्रै घोषणा गर्ने तयारी गरेको छ।

वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने  बताए ।

बिज्ञापन

‘सहमतिको लागि अधिकतम प्रयास भएपनि हाल नेतृत्व चयन हुन सकेन’, उनले भने, ‘आजै केन्द्रीय समिति घोषणा गरेर अध्यक्ष भने पछि बस्ने केन्द्रीय समितिबाट चयन गरिनेछ ।’

वाईसीएलको नेतृत्वमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गर्दै आएका छन् । तर दुबैको नाममा सहमति हुन नसकेपछि समस्या भएको हो । निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन नगर्ने र सहमति पनि नबन्दा यो विषयमा सहमति जुटाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।

सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो ।

प्रचण्डले नै नेतृत्व चयन गर्ने भएपछि मंगलबार बिहान वाइसीएलको टोली प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेको थियो । यो छलफलमा हाल केन्द्रीय समितिमात्र घोषणा गर्ने र पछि नेतृत्व चयन गर्नेगरी गृहकार्य गर्न प्रचण्डले निर्देशन दिएपछि सोहीअनुसार गर्न लागिएको बताइएको छ ।