आज माओवादी  नेताहरुको कार्यविभाजन हुदै

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेताहरुको कार्यविभाजनको टुंगो आइतबार (आज) लाग्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो (शनिबार) बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायत काम टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

बिज्ञापन

आइतबार बिहान ११ बजे बस्ने बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नवीकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हिजोको बैठकमा छलफल भएको थियो ।

निर्वाचन आयोगले निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचन निर्देशिका तल पठाउनेबारे पनि आजको बैठकले थप निर्णय गर्नेछ ।