
काठमाडौँ : पार्टी विभाजनमा कतै पनि नलागेका नेकपा एमालेको तेस्रो धारका नेताहरू भावी रणनीति बनाउन जुटेका छन् । त्यसका लागि उनीहरूले आज शुक्रबार काठमाडौँमा उपलब्ध नेताहरुबीच बैठकको आयोजना गरेका छन् । छलफलमा पहिला माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुन लागेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘हामी पार्टी एकताको पक्षमा रहेर काम गर्दै आएका नेतालगायत पार्टी फुटमा कतै नलागेका एमालेका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसमेतको सहभागितामा छलफल हुँदैछ, पाण्डेले भने, ‘छलफलपछि हाम्रो दृष्टिकोण प्रस्ट पार्छौँ ।’



विगतमा कार्यदलमा समेत रहेका नौ नेताले बिहीबार राति संयुक्त अपिल जारी गर्दै अध्यक्ष केपी ओलीलाई १० बुँदे कार्यान्वयन गर्न आग्रह गर्नुका साथै १४ नेतालाई गरेको कारबाही फिर्ता गर्न भनेका थिए । साथै माधव नेपाललाई फरक पार्टी गठनको प्रयास छोड्न समेत सुझाव दिएका थिए ।

नौ नेताले जारी गरेको अपीलमा सरकारले पार्टी विभाजनका लागि ल्याएको अध्यादेशको समेत विरोध गरेका थिए । यसरी अपिल जारी गर्नेहरूमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।