
काठमाडौँ : नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको भेला ललितपुरमा सुरु भएको छ । संस्थापन इतर समुहको भेला सकिएलगत्तै पार्टी सभापति देउवा निकट जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन ।

महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।थापाले भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै त्यसलाई चिर्न आफूहरु छलफलमा जुटेको बताए ।



उनले अधिवेशनलाई कसरी व्यवस्थित र सफल बनाउन सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए । ‘जिल्ला–जिल्लामा अधिवेशनको माहोल कसरी बनाउन सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो यो छलफल कुनै नेताका विरुद्ध होइन, अधिवेशन कसरी सफल बनाउन सकिन्छ भनेर हो ।

’संस्थापन समूह निकट जिल्ला सभापतिहरुले आजै पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत केन्द्रीय सदस्यहरुलाई भेटेर महाधिवेशन हुन नदिने खालका र विधानविपरीतका भेला गर्ने काम रोक्न अनुरोध गर्ने तयारी गरेका छन् ।
वरिष्ठ नेता पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले महाधिवेशन गर्न नेतृत्वले नचाहेको र पार्टी वैधानिकता संकटमा पारेको आरोप लगाएको थियो ।