
काठमाडौँ : नेपालमा बुधबारबाट मनसुन थप सक्रिय हुने भएको छ । भोलिबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र उक्त प्रणालीका कारण देशभरी मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

मंगलबार देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।