आज खण्डग्रास चन्द्र ग्रहण, हेर्न हुन्छ कि हुँदैन ? | OmkarTimes.com

काठमाडौं । आज (मंगलबार) राति खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । आकाश सफा भए आजको चन्द्र ग्रहण मुलुकका सबै भू–भागबाट देख्न सकिने जनाइएको छ ।

 

बिज्ञापन

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्ने गर्छ ।

 

मंगलबार राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा शुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ ।

 

चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेटसम्म देख्न सकिने नेपाल एस्टोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । उनले नेपालका पुरै भू–भागबाट ग्रहण हेर्न सकिने उनको भनाई छ ।

 

चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने जनाइएको छ । ‘वैज्ञानिक मूल्य र मान्यता अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन’, भट्टराईले भने ।