
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटमा आज सकिदैछ । अल्टिमेटमअनुसार नेपाल समूहले हस्ताक्षर फिर्ता लिने हो वा अडानमा कायम रहने हुन् सर्वत्र चासो बनेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाल समूहका २३ निवर्तमान सांसदसहित १४६ जनाले सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यो रिटको आज अन्तिम सुनुवाइ हुँदैछ । आज सबै पक्षको बहस सकिएपछि आज भोलिमै सर्वाेच्चले फैसला गर्दैछ । सर्वाेच्चले फैसला गर्ने समयअघि नै ओलीले नेपाललाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।



ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटीले आज सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । त्यसपछि ओली र नेपाल दुवै समूहका वार्ता टोलीले एकताको पहल गरेका थिए । लगातार दुई दिनसम्म वार्ता टोलीले पहल गरेपनि नेता नेपालले हस्ताक्षर फिर्ता लिन मानेका छैनन् । नेपाल समूहले हस्ताक्षर फिर्ता लिनुभन्दा ओलीले नै विघटन फिर्ता लिनुपर्ने माग राख्दैआएको छ ।

ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल तथा नेपालका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराई वार्तामा सम्मिलित थिए । वार्ता टोली नेपाललाई कोटेश्वर निवासमै भेटेरै मनाउने प्रयास गरेको थियो । तर नेपाल अडानमै कायम रहिरहे । ओलीले भने सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए मंगलबारदेखि नेपाल समूह पार्टीमा नरहने घोषणा गरिसकेको छ ।
नेपाल समूहका एक नेताका अनुसार हस्ताक्षर फिर्ता लिने अवस्था र सम्भावना छैन । सर्वाेच्चले संसद पुनर्स्थापना गरिदिए हस्ताक्षर फिर्ताको औचित्य नै नरहने हुनाले त्यसतर्फ आफ्नो समूहको सोच छैन । संसद पुनर्स्थापनापछि पार्टी एकताका लाथि थप मद्दत पुग्ने ती नेताको विश्लेषण छ ।