
काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने प्रयोजनका लागि बैठक बोलाइएको बुझिएको छ ।



बैठकमा शीर्षस्थ नेताले क्रियाशील छानविन समितिका सदस्यसँग छलफल गर्न लागेको समिति सदस्य कल्याण गुरुङले बताए ।

महाधिवेशनको कार्यतालिका अनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएपनि मापदण्ड नहुँदा छानविन समितिले निर्णय लिन सकेको छैन ।
क्रियाशील सदस्यताको कामले गति नलिँदा बारम्बार सर्दै आएको काँग्रेस महाधिवेशन पछिल्लो समय भदौँ १६ गतेका लागि तय गरिएको छ । महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था आएकाले पनि नेताहरु क्रियाशील टुंग्याउन ताकेको देखिन्छ ।