
काठमाडौं : नेकपा (एमाले)मा तीव्र रुपमा बढेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेताहरुले गरिरहेको एकता प्रयासबारे वरिष्ठ नेता माधवकुमार नेपालले अनभिज्ञता प्रकट गरेका छन् । उनले त्यसबारे आफूलाई कु्नै जानकारी नभएको प्रष्ट पारेका छन् ।

नेकपा एमालेमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच विवाद छ । दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । आन्तरिक विवादले उग्र रुप लिदै विभाजनकै संघारमा पुगिसकेपछि केही मध्यमार्गी दोस्रो तहका नेताहरु एकता जोगाउन क्रियाशील छन् ।



ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ लगायत सहभागी छन् भने नेपालका तर्फबाट गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु अनौपचारिक वार्ता तथा छलफल गरिरहेका छन् ।

दोस्रो तहका नेताहरु अनौपचारिक वार्तामा रहे पनि निष्कर्ष भने निस्किसकेको छैन । पार्टी २०७५ सालको जेठ २ को पूर्वावस्थामा फर्कनुपर्ने नेता नेपाल समूहको अडानका कारण ओली समूहसँग वार्ता निष्कर्षका पुग्नसकेको छैन । आइतबार राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी नेता नेपालले दोस्रो तहका नेताहरुले गरिरहेका वार्ताप्रति आफूलाई जानकारी नभएको बताए । ‘मलाई कुनै थाहा जानकारी छैन, कुनै वार्ता वा छलफल भएको थाहा छैन’ उनले भने ।
तपाईहरुबीच जुँगाको लडाई चलिरहेको छ नि? भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले भने–‘मेरो त जुँगा नै छैन अनि के को जुँगाको लडाई हुनु ।’