
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्ततः विभाजनको संघारमा आइपुगेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई सोधेको २४ घण्टे स्पष्टीकरणको समयसीमा आज दिउँसो सकिदैछ । समयसीमा सकिएलगतै एक अर्कालाई पार्टीबाटै निस्कासनको तयारी दुवै पक्षले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन र विरोध गर्ने विषयमा उत्पन्न विवाद पार्टी विभाजनकै संघारमा आइपुगेको छ । ओलीले यादव नेतृत्वको समाजवादी पार्टी फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि रातारात पार्टी एकीकरण भइ जसपा बनेको थियो । त्यसबखत ठाकुरले यादवको सपालाई फुट्नबाट जोगाएका थिए । रातारात पार्टी एकीकरण गरी जसपा नबनेको भए सपा दुई टुक्रामा विभाजित भइ सानो टुक्रे दलको अध्यक्षमा यादव सीमित भएका हुन्थे । तर ठाकुर, राजेन्द्र महतो लगायत राजपाका तत्कालीन नेताहरु मधेशी दलहरुलाई एकत्रित गर्दै एकीकरण गरेका थिए ।



अहिले भने दुई दल पुनः विभाजन उन्मुख भएको छ । सत्ताभन्दा मुद्दालाई प्राथमिकता दिएका ठाकुर आफ्ना मुद्दा र मधेशका समस्या समाधान गर्नेलाई मात्रै समर्थन गर्ने बताउँदैआएका छन् । तर यादव भने काँग्रेस माओवादी केन्द्रको समर्थनमा उभिएका छन् । एकपटक ओली सरकारमा सहभागी भएर लज्जाजनक बहिर्गमनमा परेका यादव ओलीको विरोध गरिरहेका छन् । यता ठाकुर भने ओलीलाई पनि सशर्त समर्थन गर्ने अडानमा छन् । ठाकुरकै अडानका कारण संविधान संशोधनका कार्यदल गठन, मधेश थरुहट आन्दोलनताका लगाइएको मुद्दा फिर्ता र नेता तथा कार्यकर्ताको रिहाई, नागरिकता समस्या समाधान गर्न अध्यादेश जारी भएको छ । मधेशको मुद्दामा चासो नै राख्ने ओलीले अहिले ठाकुरको अडानका कारण मधेशको समस्या समाधान गर्न तयार छन् र केही मुद्दा सम्बोधनसमेत गरेका छन् ।

मुद्दा सम्बोधन गरिरहँदा अन्यलाई समर्थन गर्न सक्ने प्रष्ट अडानका कारण अध्यक्ष ठाकु्र ओलीको पक्षमा छन् । तर यादव मुद्दालाई थाति राखेर विपक्षी गठबन्धनमै सहभागी हुन उद्दत रहेका र सत्तामा जाने बाटोलाई प्राथमिकता दिएका छन् । जसको फलस्वरुप पार्टी नै दुई चिरामा विभाजित हुने अवस्था छ । जसपाको विभाजनको संघारमा पुगेका बेला दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टे स्पष्टीकरणसहिता निस्कासनको चेतावनी दिएका पत्रको समयसीमा घर्किसकेको छ । अब निस्कासनको पत्र तयारी हुदैछ । दुवै पक्षले अझै एक अर्काको बाटो पर्खिरहेको छ । नभए जसपाउपर दुवै पक्षले आधिकारिकता दावी गर्ने र नपाइएमा पुरानै पार्टी व्यूताउँने तयारी भएको एक नेताले बताए ।
‘विभाजन हुनै लागेको सपालाई रातारात एकीकरण गरेर बचायौं तर आज उपेन्द्रजी सत्ताका लागि पुनः विभाजन गर्दै हुनुहुन्छ, सत्ता नै उहाँको लागि प्यारो छ, मुद्दा केही होइन’, जसपाका युवा नेता सुरेन्द्र झाले भने–‘मधेश मुद्दा हाम्रो लागि प्राथमिकतामा छ, जसले पूरा गर्छ उसलाई समर्थन गरिन्छ, विपक्षी गठबन्धनले वास्ता गरेन तर वर्तमान सरकारले धेरै माग सम्बोधन गरेको छ, त्यसैले समर्थन गर्न बाध्य भएका हौ ।’ पार्टीभित्र कोही अटाउन नसके वा फुटाउन खोजे आफ्नो बाटो लागेकै जाति हुने उनले बताए । यस्तो विभाजनकारी व्यक्तिलाई लिएर लामो संघर्षको मधेश मुद्दामा लाग्न नसकिने हुँदा दुवै पक्ष आफ्नै बाटो लाग्ने अवस्था सिर्जना भएको उनले स्पष्ट गरे ।
यादवनिकट एक नेताको भनाइमा कार्यकारिणी समितिमा बहुमत रहेकाले आधिकारिक आफूहरुले नै पाउने दावी गरे । बहुमतका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको छ, आउने आउँछन् होइन भने पार्टी फुटाएर अघि बढछन्, उनले भने । जसपाको केन्द्रीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत भएको दावी गरेको छ । यद्यपि संसदीय दलमा भने ठाकुर पक्ष बहुमतमा छ । कुल ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा २०जना छन् भने उपेन्द्र पक्षमा १२ जनामात्रै छन् ।