
काठमाडौ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा बेथितिले प्रश्रय पाउन थालेको बताएका छन् । नेपालमा हुने कुनै पनि घटनाको यथार्थभन्दा सतही ढंगको विश्लेषण हुने र त्यसैगरी पन्छाउने प्रवृत्ति मौलाएको उनको भनाइ छ ।




स्वर्गीय नेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले मदन भण्डारी, दरबार हत्याकाण्डजस्ता ठूला घटना रहस्यको गर्भमै रहनु सम्पूर्ण नेतृत्वको लागि लज्जास्पद विषय भएको बताए ।

दाहालले वर्तमान नेतृत्व छाला जोगाउनतिर लागेको हो की भन्ने प्रश्नसमेत गरे । ‘नेपालको इतिहासमा मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्डजस्ता ठूला घटनाहरु भए । जसको आजसम्म पनि तथ्य पत्ता लगाउन हामी असफल छौं ।
मैले पहिलोपट प्रधानमन्त्री हुँदा नारायणहिटी अगाडि उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाउँछु भनेको थिएँ । तर सकिनँ । खै के ले दिँदैन ?’
पछिल्लो समय यथार्थ पत्ता लगाउनुको साटो यस्तै हो भनेर पन्छाउने प्रवृत्ति मौलाएको उनको टिप्पणी छ । ‘विगतमा भएका घटनाको यथार्थ पत्ता लगाएर दोषीलाई कारबाही नगरे कालान्तरमा फेरि यस्तै खालका घटना नहोलान् भन्ने सकिँदैन,’ दाहालले भने ।