नेपाली कांग्रेसको आकस्मिक बैठक सुरु

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आकस्मिक बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा सुरु भएको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरु सहभागी छन्। राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने आह्वान भएपछि कांग्रेसको आकस्मिक बैठक बसेको हो। कांग्रेसले प्रधानमन्त्रीको पद रिक्त नभइ  ७६ (५) मा प्रवेश गर्नु नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको बताइसकेको छ। सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक अहिले बसिरहेको हो।

 

बिज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन्। यो समय साँझ पाँच बजे सकिँदै छ।