
छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो ।



भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने बढ्दो क्रममा रहेको हो । भारतमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । तर यसअघि दैनिक ४ लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही दिनदेखि सङ्क्रमण घट्दो क्रममा रहेको हो । भारतमा सङ्क्रमित सङ्ख्या २ करोड ५२ लाख २७ हजार ९ सय ७० पुगेको छ ।
२ करोड १५ लाख ९० हजार ३ जना उपचारपछि निको भएका छन् । ३३ लाख ५९ हजार २ सय १६ जनाको उपचार भइरहेको छ । उपचाररत सङ्क्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।