सुन निकाल्ने बहानामा युवतीको अपहरण

विराटनगर । विराटनगर–४ ईकराही निवासी देखनसरी माझी चौधरीले छोरी हराएको भन्दै खोजिदिन आग्रह गर्नुभएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले छोरी खोजिदिन आग्रह गर्नुभएको हो । विराटनगर–१९ घिनाघाटका सुनिल भनिने दिनेश
मण्डलले छोरी बेपत्ता बनाएको उहाँको आरोप छ । सम्बन्धित बिषयमा प्रहरीमा उजुरी दिएको भएपनि प्रहरीले खोजतलाशमा बेवास्ता गरेको
उहाँले बताउनुभयो ।ईकराही निवासी २४ वर्षीया गुजेश्वरी माझी गत माघ १० गतेदेखि सम्पर्कविहिन बनेको परिवारले बताएको छ ।

यस्तो छ वास्तविकता

बिज्ञापन

सन्तान नभएका दम्पत्तिलाई आफूले औषधी दिएपछि सन्तान हुने भन्दै निजको घर पुगेका मण्डलले देखनसरीको घरमा मसानले सुन गाडेको विश्वास दिलाएका थिए । घरमा मसानले सुन गाडेको छ भनेर विश्वास दिलाएर नगद रु. ५० हजार समेत ठगेर लगेको देखनसरीले बताउनुभयो । पूजा गरेको बहानामा मण्डलले आफ्नो सुनको औँठी समेत निकालेपछि गुजेश्वरीको परिवारले उनीमाथि विश्वास गरेका थिए । मण्डलले मसानलेगाडेको सुन निकाल्न कुमारी केटी मेरो जिम्मा लगाइदिनु भनेका थिए, देखनसरीले भन्नुभयो, । मण्डलले ५ वटा नदीनाला पूजा गरेर ल्याएपछि घरमा मसानले लुकाएको सुन भेटिन्छ भनेको थियो, तर ठगेर नगदसँगै छोरीपनि लिएर गयो ।’

मण्डलले यसअघि पनि देखनसरीकी छिमेकी रामवती शाहलाई पत्थरी ठीक गरिदिने भन्दै ठगेको थिए । रामवतीले भन्नुभयो । अप्रेशन गर्न तयार थिएँ, उसले दबाई दिन्छु ठीक भईहाल्छ भनेपछि विश्वास गरेँ तर केही भएन ।’मण्डलले रामवतीसँग भने २ हजार ४ सय रुपैयाँ ठगेका थिए । यता प्रहरीले भने मण्डलको खोजतलाश भईरहेको जनाएको छ । प्रहरीमा उजुरी परे लगत्तै मण्डलको खोजी कार्य थालिएको मोरङ  प्रहरीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।