
विराटनगर । साङ्लोमा बाँधिएका खुट्टामा साङ्लोकै डोब । ६ वर्षदेखि खुट्टाबाट बाँधिएको साङ्लो जब खोलियो पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीय भीमबहादुर पौडेल हाँस्न थाले । एक पटक होइन उनी पटक–पटक र निरन्तर हाँसिरहे ।

विराटनगरको मानव सेवा आश्रमका संयोजक नवराज केसीसहितको टीमले उनलाई उद्धार गरेको थियो । उद्धारका क्रममा उनलाई स्याहार गरिरहेकी ७६ वर्षकी आमा चुँडाकुमारी पौडेलले भनिन्, ‘मैले तिमीलाई पाल्न सकिन, अब जाउ है, म भेट्न आउँछु ल, हाँसेको हाँस्यै गर्नु है, कसैलाई नराम्रो नभन्नु मैले तिमीलाई आशिर्वाद दिएँ । मलाई पाप लाग्दैन, मैले तिमीलाई हुर्काएँ बढाएँ है ।’ छोराप्रति जब आमाको यस्ता बोली प्रष्फुटन भए माहोल भावुक बन्यो । तर, छोरा भीमबहादुरलाई भने खुट्टाबाट साङ्लो निकालिएको अनुभूतिका कारण होला उनी हाँसिरहे, खुसी भइरहे ।



आमा चुँडाकुमारीले पनि छोराको उद्धार भएको देखेर हर्षको आँशु झारिन् । उमेरसँगै चाउरिएको अनुहार र भावभंगीमा एक्कासी परिवर्तन आयो । उनले अब भन्न थालिन्, ‘म त अब एक्लो भएँ, मज्जाले गरिखान सक्छु ।’ ६ वर्ष अगाडि भीमबहादुर खुल्लै छाडिँदा ३ महिनासम्म हराएका थिए । त्यसयता उनी साङ्लोमा बाँधिएरै जीवन बिताइरहेका थिए ।

उनकी एक्ली आमालाई सहयोग गर्नेबेलामा छोरा साङ्लोमा बाँधिएको देख्दा कसलाई पीडा हुँदैन र । छिमेकी मनमाया मगरले छोराको उद्धार भएसँगै आमाको पनि उद्धार भएको बताउनुभयो । यस्तै छिमेकी मैया कार्कीले पनि दयनीय अवस्थाबाट उद्धार हुनु भनेको पौडेलले नयाँ जीवन पाएको जस्तै भएको बताउनु भयो । भत्केको घरको एक छेउमा बनाइएको पशुको खोर जस्तो बस्ने ठाउँमा उनै भीमबहादुर जीवन बिताइरहेका थिए ।
गर्मीमा गर्मी भन्न नपाउने र जाडोमा जाडो भन्न नसक्ने उनको अवस्था थियो । भोक लागे ढुंगा माटो हान्न थाल्थे, कराउँथे । जब खान पाउँथे उनी डोरी बाटिरहन्थे । पथरीशनिश्चरे नगरपालिका ५ हसन्दहका वडाध्यक्ष जोखबहादुर धिमालले, पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, सो क्षेत्रका प्रदेश सांसद लिलाबल्लभ अधिकारीको पहलमा नारकीय जीवन बिताइरहेका पौडेलको उद्धार गरिएको बताउनुभयो । यो अवस्थाबाट उद्धार गर्नका लागि र सहयोगका लागि आफूले धेरै पहल गरेको वडाध्यक्ष धिमालको भनाई छ ।
यता उद्धार कार्यमा पहल गर्नुभएका सो क्षेत्रका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले पशुतुल्य अवस्था रहेका र वर्षौं वर्षदेखि मरेतुल्य जीवन विताईरहेका पौडेलको उद्धारमा आफूहरुको पनि सहयोग रहेको बताउनुभयो ।
प्रदेश १ मा असहाय, पीडित र मानसिक सन्तुलन गुमाएर बेसहारा भएका सडकका मानिसलाई उद्धार गर्ने अभियानको नेतृत्व यसअघि पनि सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नुभएको थियो । यसपटक उक्त मन्त्री पदबाट राजीनामा दिएको भएपनि आफ्नो अभियानलाई निरन्तर कायम राख्न आफू सक्रिय रहेको पूर्व सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो ।
विराटनगरको मानव सेवा आश्रमले विगत लामो समयदेखि सहयोगापेक्षी मानवहरुको उद्धार गर्दै आएको छ । मानव सेवा आश्रम विराटनगरमा हाल २ सय ५४ जनालाई यही किसिमका मानिसहरुलाई उद्धार गरेर राखिएको छ । त्यहाँ उद्धार गरिएकाहरुको गाँस, बास, कपास र स्वास्थ्य उपचारको उचित प्रबन्ध गरिएको आश्रमका संयोजक नवराज केसीले बताउनुु भयो । सरकारले नितिगत रुपमा सडक मानव मुक्त बनाउने अभियानको घोषणा गरेपनि त्यसका लागी आवश्यक बजेट व्यवस्थापनको पक्षमा सरकारको कुनै तयारी छैन । दाताहरुको सहयोगमा सडक आश्रित बेसहाराहरुको उद्धार भने मानव सेवा आश्रमले गर्दै आएको । मानव सेवा आश्रमले पनि हात उठाईदिए सडकमा जीवन धान्न बाध्य भएकाहरुको अवस्था के होला ? के सरकारले उनीहरुको उचित व्यवस्थापन गर्न सक्छ ? यसबारे सरकारको योजना के छ ? आज यी यस्ता असंख्यौं प्रश्नहरु उब्जिएका छन, जसको जवाफ सरकारसँग छैन ।