मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितमा राष्ट्रिय एकता छ : देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले भने, ‘सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन।’

बिज्ञापन

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारको संशोधन विधेयको समर्थन गर्ने निर्णय गरेको पनि पूर्वप्रधानमन्त्री देउवाले जानकारी दिए ।

मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता रहेको देउवाको भनाइ थियो । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ ।’

सबै राजनीतिक दलहरूबीच संविधान संशोधनको विषयमा एकता देखिनुले सकारात्मक सन्देश गएको देउवाको भनाइ थियो । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउनेमा प्रमुख प्रतिपक्षी दलले समर्थन गर्ने र साथ दिने उनको प्रतिबद्धता थियो ।