
झापा — १ नम्बर प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले जिल्लाको संक्रमित क्षेत्र कचनकबलको क्वारेन्टाइन निरीक्षण गरेकी छन् ।




यस्तै उनले विभिन्न प्रकारका स्वास्थ्य सुरक्षाका सामग्रीपनि प्रदान गरेकी छन् ।

प्रदेश १ को राजधानी विराटनगरबाट आज बिहानै झापा आईपुगेकी राज्यमन्त्री गजमेरले सीमाबाट भित्रिने नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने, उनीहरुलाई उचित खाने बस्ने सुविधा दिने र कोरोना परीक्षण गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।
कचनकवल स्थित लक्ष्मी प्रसाद देवकोटा मावि क्वारेन्टाइनमा शनिवार विहान ७ बजे पुगेकी मन्त्री गजमेरले क्वारेन्टाइनमा बस्नेका लागि १०० थान स्यानिटाइजर र ५०० थान मास्क दिएकी छन् भने स्वास्थ्यकर्मीका लागि २० सेट पीपीई र ३ थान थर्मल गन प्रदान गरेकी छन् ।
यस्तै राज्य मन्त्री गजमेरले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई भेटेर १०० थान एन ९५ मास्क झापाका पत्रकारहरुका लागि उपलब्ध गराएकी छन् ।