राहत वितरणका विषयमा सिरहामा झडप : ४ राउण्ड हवाइ फायर र १३ राउण्ड अश्रुग्यास प्रहार

सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाइ फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

बिज्ञापन

घाइतेहरूको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित फूलबरीयामा वडाध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको प्रहरी टोलीमाथि राहत लिन पुगेकाहरूले ढुंगामुढा गर्न थालेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीलाई दंगी फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिएका छन ।

 

 

यता लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नहरुलाई कुनै वास्ता नगरी वडाध्यक्षले आफ्ना नजिकी व्यक्तिलाई राहत बाँडेको भन्दै विवाद भएको एक प्रत्यक्षदर्शीले बताए । मिर्चैया ७ का वडाअध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समाबेश गरेको असन्तुष्टको आरोप छ ।

 

वडाअध्यक्ष यादवले कुनै पुर्वाग्रही नराखि निष्पक्ष तरिकाले वास्तविक बिपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा विवाद सिर्जना गरिएको बताएका छन । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडाहरुमा पनि राहत वितरण गर्ने क्रममा बिवाद भएको थियो ।