
सर्लाही : सर्लाहीका साहुकार रामबाबु राय यादव रिहा भएका छन् । बरहथवा–१० सीतापुरका साहुकार यादवले हिजो (आइतबार) अदालतमा एक करोड ७५ लाख धरौटी रकम बुझाएर हिरासतमुक्त भएका हुन् ।




अनुसन्धानका क्रममा यादवले २८ जनाबाट २० करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर उनलाई थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

अदालतले आदेश दिएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत ५ फागुनमा सर्लाही जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो । यसअघि उनी ठगी मुद्दाअन्तर्गत २३ पुसमा जिल्ला प्रहरी कार्यालयबाट पक्राउ परेका थिए । १५ लाख रुपैयाँ धरौटी रकम तिरेर अदालतबाट निस्कँदै गरेका उनलाई सिआइबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो ।
सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एक करोड ७५ लाख रुपैयाँ धरौटीबापतको रकम बुझाएपछि यादव हिरासतमुक्त भएको बताए ।
ऋण दिँदा दृष्टिबन्धक मात्र होइन, रजिस्ट्रेसन नै पास गरी सर्वसाधारणको जग्गा हडप्ने धन्दामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले यादवलाई गत २३ पुसमा पक्राउ गरेको थियो ।
उनीविरुद्ध सर्लाहीका २८ जनाले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।