
पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।




नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसको महामारीसँग लड्नुपर्ने बेला सत्तारुढ नेकपाभित्र देखिएको विवादले जनता निरास बनेको उल्लेख गर्दै दलहरुबीच आन्तरिक एकतामा जोड दिएका हुन् ।
लकडाउनका कारण देशको अर्थतन्त्र धराशायी बनेको अवस्थामा राष्ट्रिय एकता आवश्यक रहेको उनको भनाई छ ।
महराको विज्ञप्तिमा भनिएको छ, ‘सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेलामा मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु ।’