
कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमुना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ ।




स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप ८ जनाको स्वाब नमुना सङ्कलन गरेर पठाइएको हो ।

त्रियुगा नगरपालिका गाईघाट डीएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमुना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।
पठाइएको नमुना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र मागअनुसार मात्र स्वाब नमुना सङ्कलन गर्न लागिएको प्रमुख सुवेदीले बताए । उदयपुरमा कोरोनाबाट २८ सङ्क्रमित भएका छन् ।
गाउँलेद्वारा परीक्षण गर्न माग
त्रियुगा नगरपालिका–३, भुल्केवासीले कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेका छन् ।
२८ कोरोना सङ्क्रमित रहेको भुल्केगाउँमा हालसम्म ३ सय २४ जनाको मात्र स्वाब नमुना सङ्कलन गरी परीक्षण भएको तर यो सबै गाउँलेका लागि पर्याप्त नभएको र ढुक्क रहने अवस्था नरहेका कारण अब प्रत्येक घरघरका परिवारको समेत नमुना सङ्कलन र परीक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।
भुल्केका ईश्वरीप्रसाद भट्टराई भन्छन्, ‘अहिलेसम्म भुल्केमा ५५ घर मुस्लिम परिवारसहित केही स्थानीयवासी गरेर ३२४ को मात्र स्वाब परीक्षण गरिएको छ । बाँकी अन्य ३ सय घरपरिवारका अन्य समुदायको पनि छिटोभन्दा छिटो स्वाब नमुना सङ्कलन गरेर परीक्षण गर्न जोडदार माग गर्दछौँ ।’
स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन र प्रदेशका मुख्यमन्त्री, मन्त्रीले समेत भुल्केवासी सबैको स्वाब नमुना सङ्कलन गरेर परीक्षण गर्ने भनेर आफूहरूलाई ढुक्क पारेको भए पनि अहिलेसम्म बाँकी गाउँलेको स्वाब सङ्कलन र परीक्षण हुन नसकेकाेमा दुःखी भएको ७० वर्षीय कृष्णप्रसाद ढकाल बताउँछन् ।
त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अपदेश चौधरीका अनुसार भुल्केमा मुस्लिम समुदायबाहेक पहाडी समुदाय क्षत्री, ब्राह्मण, राई, कामी, दमाईं, भुजेलसहित चौधरी जाति बसोबास गर्दै आएका छन् । रासस