
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्धको लडाइँमा सबै जुट्नुपर्ने बताएका छन् । शनिबार कोरोना प्रभावित उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।




कोरोना प्रभावित क्षेत्रका स्थानीयलाई मुख्यमन्त्री राईले त्रसित नभएर बस्न आग्रह गरेका छन् । ‘तपाइको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्’ मुख्यमन्त्री राईले भने । उनले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिनेसमेत जानकारी दिए ।

मुख्यमन्त्री राईले शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।
मुख्यमन्त्री राईसहित आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोलीले उदयपुरको भुल्के, कटारी–१ बेलसोच र भोजपुरको हतुवागढीमा रहेका क्वारेन्टाइन स्थलकोसमेत निरीक्षण गरेको थियो ।
सक्रममा टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यकपर्ने स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
मुख्यमन्त्री राईले थर्मलगन, पीपीई, एन-९५ मास्क, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुर पुर्याई दिएका हुन् ।
प्रदेश–१ मा हालसम्म ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।