
काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।




सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर, काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौँको संख्यामा तरकारी खरिद गर्नेको भीड हुने गरेको छ ।

सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुनेलगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरूरूको भीडभाड देखियो । तरकारी बजारमा झुण्डझुण्डमा मानिसहरूले तरकारी किनिरहेका थिए । सामाजिक दूरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरूले तरकारी किनिरहेका थिए । बजारमा साबुनपानीले हात धुने व्यवस्था पनि गरिएको छैन ।
यस्तै, स्यानिटाइजरको प्रयोग पनि भएको देखिँदैन । केही व्यक्तिहरूले मास्क र पञ्जा भने लगाएको देखिन्छ । अस्थायी बजारको रूपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भीडभाड अस्वाभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ ।
यस्तै, काठमाडौंको भृकुटीमण्डपस्थित टुकुचा बजारमा पनि तरकारी खरिद गर्नेको भीडभाड छ । यो अस्थायी बजार भने होइन । सरकारले करिब २ साताअघि कालिमाटी तरकारी बजारमा भीडभाड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो ।
यसबाहेक पनि व्यापारीहरूले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी विक्री गर्न राखेका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौँको संख्यामा भीड लाग्ने गरेकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।