ज्याला नपाएपछि घर जान मुस्किल : ‘रित्तो हात फर्कन सकिन’

काठमाडौं : आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने गएका छैनन् । उनी जस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उनी समस्यै नभएर काठमाडौं बसेका भने होइन् । काम गरिरहेको कम्पनीले झण्डै छ महिना पहिलेदेखिको हिसाब नगरेकाले उनी मनोहरा पुल नजिकैको जस्ताले घेरिएको छाप्रोमा बस्दै आएका छन् ।

 

बिज्ञापन

त्यही छाप्रोमा उनी अरु चारजना साथीसँगै बस्दै आएका छन् । ती पाँचैजनाको समस्या एउटै छ । घरमा रित्तो हात जान नसकेकाले निर्माण व्यवसायीले पैसा दिने आशा गरेर बसिरहेको उनले बताए । उनी गत माघदेखि यहाँ खोला किनारामा पर्खाल लगाउने काम गर्दै आएका छन् । ‘लकडाउन’ पहिले नै कतिपय साथी घर गए पनि उनी अवस्था सामान्य भएपछि काम गर्न पाइएला भन्दै आशा गर्दै बसे । लकडाउनपछि भने निर्माण व्यवसायीले बाँकी हिसाब गर्छु भने पनि नगरेको उनले बताए । उनले भने, “छ महिना काम गरेको पैसा होस् भनेर रित्तो हात फर्कन सकिन ।”

 

उनी विगत दुई दशकदेखि काठमाडौंमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । यो लकडाउन शुरु भएपछि भने काम गर्न नपाएको बुढाले बताए । दिनभर उसै बस्दा कमाइ नहुने मात्रै होइन दिन काट्न पनि गाह्रो भएको उनले बताए । झण्डै एक साता पहिले ग्यास सकिएपछि अहिले दाउरामा खाना पकाउने गरेको उनले बताए । उनले भने, “खोला छेउमा कतै दाउराको टुक्रा भेटिए त्यही बटुलेर पकाउने गरेका छौँ ।”

 

कैलालीका जय सारुमगर पनि बुढासँगै एउटै छाप्रोमा बस्दै आएका छन् । विदेश जानका लागि भन्दै छ महिना पहिले काठमाडौं आएका उनी त्यतिबेलादेखि नै सडक निर्माणको काममा लागे । काम गर्दै प्रक्रिया अघि बढाउने सोचेका उनी विदेश त जान पाएन स्वदेशमै समेत गरिरहेको कामलाई निरन्तरता दिन सकेका छैनन् । अहिले आफूसँगै काम गरिरहेका १९ जना घर पुगिसकेको उनले बताए । हिसाब बाँकी भएकै कारण उनले भने घर जाने योजना बनाए ।

 

“साहुले बस्दै जानु केही समयमा लकडाउन पनि खुल्छ र काम हुन्छ भनेको थियो”, उनले भने, “अहिले न काम गर्न पाइयो न त बाँकी हिसाब नै पाइएको छ ।” वडा कार्यालयले दिएको राहतका खानेकुरा एक पटक पाएको भए पनि अहिले सकिनै लागेको उनले बताए । राहतमा आएको चामल र दाल खाएरै उनीहरु बस्दै आएका छन् । साथमा पैसा नहुँदा तरकारी किनेरसमेत खान नसकिएको उनले बताए । सँगै काम गर्ने साथी घर जान भन्दै पोको कस्दा उनीलाई पनि जाउँजाउँ भन्ने नलागेको होइन तर यहाँ काम गरेको झण्डै दुई महिनाको ज्याला पाउन बाँकी भएकाले यतै बसेको उनले बताए । पहिले समय–समयमा पैसा घर पठाउने गरे पनि लकडाउन पहिलेकै दुई महिनाको ज्याला नलिएकाले घर पठाउन नसकेको उनले बताए । उनले भने, “उता परिवारले कति न कमायो भन्ने सोचेको हुन्छ रित्तै हात जान मन लागेन ।”

 

लकडाउनको एक महिना पुग्नै लाग्दा काठमाडौं उपत्यकामा मजदुरी गरेर जीविकोपार्जन गरेकाहरु सबैभन्दा मारमा परेका छन् । कतिपयले विभिन्न कारणले राहत पाएका छैनन् भने राहत पाएकाले पनि एक पटक दिइएको रासन सकिएको वा सकिनै लागेकाले फेरि पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् । नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले लकडाउन थप गरिरहँदा उनीहरुमध्ये धेरै घर गइसकेका छन् भने कतिपयले विभिन्न समस्याका कारण उपत्यका छाड्न सकेका छैनन् । असङ्गठित क्षेत्रमा काम गर्ने धेरै मजदुरले ‘लकडाउन’ का कारण रोजगारी गुमाएका छन् । विगतमा काम गरेको ज्यालासमेत नपाउँदा हिँडेरसमेत घर जान नपाएको उनीहरु गुनासो गर्छन् ।

 

नरेफाँटमै व्यक्तिगत जग्गामा छाप्रो बनाएर बसिरहेका राजेशकुमार यादव घर बनाउने ठाउँमा भारी बोक्दै आएका थिए । लकडाउनयता भने उनले काम गर्न पनि पाएका छैन र कमाइ पनि छैन । काठमाडौं महानगरपालिका वडा नं ३२ बाट गत साता १० किलोग्राम चामल राहत पाएका थिए । उनीसँगै बस्दै आएका सातजनाको समूहले दिनमा दुई पटक खाँदा तीन दिन पहिले नै चामल सकिएको उनले बताए । उनले भने, “अहिले नजिकैका घरमा मान्छेले दिएर खाइरहेका छौँ ।”

 

काठमाडौं उपत्यकामा विगतमा सडक, पुललगायत पूर्वाधार निर्माण भएका कतिपय स्थलमा अहिले पनि मजदुर भेटिन्छन् । सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माण शुरु गरे पनि अधिकांश स्थानमा ठप्प छ । काम गर्न नपाएका उनीहरु दिनभर गफ गरेरै दिन बिताउने गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माणस्थलमा रहेका मजदुरलाई खाद्यान्नको व्यवस्थापन गरिरहेको बताए पनि मजदुरले भने दिइएको खानेकुरा पर्याप्त नभएको बताउँदै आएका छन् । (रासस)