
उदयपुरको भुल्के मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका १२ जना भारतीय नागरिकले दुई दिन अघिसम्म ४० जनासम्मकाे समूह बनाएर नमाज पढेको खुलेको छ ।




स्वाब नमूना दिएपछि पनि मस्जिदमै बस्दै आएका उनीहरूले रिपोर्ट नआउँदासम्म ठूलो समूहमा नमाज पढेको स्थानीयवासीले बताएका छन् ।

गाइघाटका पत्रकार यदु ढकालका अनुसार स्वाब नमूना दिएपछि पनि विभिन्न माध्यमबाट उनीहरू धेरै मानिसको सम्पर्कमा पुगेका थिए ।
‘मस्जिदभित्र नाम मात्रको क्वारेन्टाइन छ । स्वाब नमूना दिएपछि पनि उनीहरू मस्जिदभित्र रहेका थुप्रैसँग सम्पर्कमा थिए । दुई दिन अघिसम्म त ३५/४० जनाको समूह बनाएर नमाज पढिरहेका थिए’, पत्रकार ढकालले भने ।
तरकारीमार्फत सुरक्षा निकायमा
उनीहरूसहित उनीहरूसँग सम्पर्कमा आएकाहरू तरकारी बेच्न नियमित गाइघाट बजार जाने गरेका थिए । गाइघाटका सुरक्षा निकायका क्याम्पहरूमा समेत उनीहरूले नै तरकारी पु¥याउँथे ।
राहत बाँड्न हिँडेका थिए
कोरोना पुष्टि भएका १२ जना केही दिन अघिसम्म राहत वितरणमा समेत खटिएका थिए । राहत लिन वडा कार्यालयमा समेत पुगेका थिए ।
त्रास
अहिले उदयपुर जिल्लावासी नै त्रासमा छन् । त्रियुगा नगरपालिकाले घरबाट बाहिर ननिस्कन स्थानीयवासीलाई आग्रह गरेको छ । अहिले त्रियुगाका सडकहरू सुनसा नबनेका छन् ।
स्थानीय सरकार र प्रशासनको चरम लापरबाही
मस्जिदभित्रको क्वारेन्टाइनको अवस्था, कोरोना आशंका गरिएकाहरूको गतिविधिप्रति जनप्रतिनिधिले बेवास्ता गरेको देखिन्छ ।
स्वाब नमूना लिएपछि पनि ती १२ जना अन्य धेरैको सम्पर्कमा आएको देखिन्छ । ‘स्थानीय सरकार र प्रशासनको चरम लापरबाही देखियो । हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा न स्थानीय सरकारले ध्यान दियो, न त स्थानीय प्रशासनले नै’, पत्रकार ढकालले भने ।
क्वारेन्टाइनमा राखिने
कोरोना पुष्टि भएका १२ जनाको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने विषयमा अहिले त्रियुगा–११ बोक्सेस्थित जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र जिल्लाका अधिकारीबीच छलफल भइरहेको छ ।
कोरोना भाइरस संक्रमित १२ जनालाई शुक्रबार नै विराटनगरस्थित कोसी अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ ।