यापिड टेस्ट गर्दा काेराेना सङ्क्रमणकाे आशङ्का गरिएका तीन जनाकाे ‘पीसीआर’ विधिबाट परीक्षण गरिने

काठमाण्डाै – र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) गर्दा काेराेना सङ्क्रमणकाे आशङ्का गरिएका काठमाण्डाैका एकै परिवारका तीन जनाको स्वाब रियल टाइम पाेलिमरेज चेन्ज रियाक्सन (पीसीआर) विधिबाट परीक्षण हुने भएको छ ।

 

बिज्ञापन

काडाँघारीको सनसिटी अपार्टमेन्टमा बस्दै आएका बुबा, छोरा र बुहारीको र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भएको पाइएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको पाटन अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।

 

अस्पातलका अनुसार आज रिपोर्ट आएपछि मात्रै उनीहरुमा कोरोना भए वा नभएको टुङ्गो लाग्ने छ । उनीहरु गएको चैत ५ गते बेलायतबाट फर्किएका हुन् । तर आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि नहुने भएकाले पीसीआर विधीबाट परीक्षण गरेपछि मात्र आधिकारिक मान्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कतिपय अवस्थामा आरडीटी विधिबाट नेगेटिभ देखिए पीसीआर विधिमा पोजेटिभ देखिन्छ अनि आरडीटीबाट पोजेटिभ देखिए पीसीआरमा नेगेटिभ देखिने सम्भावना पनि रहन्छ ।

 

प्रहरीले एकै परिवारका तीन जनामा कोरोना आशङ्का गरेपछि अपार्टमेन्ट सिल गरेको छ । पाटन अस्पतालमा साेमबारसम्ममा ३९ जनालाई आइसोलेशनमा राखिएकोमा ३५ जनामा कोरोना नभएको पाइएपछि घर पठाइएको र अहिले ४ जनामात्र रहेकाे अस्पतालले जनाएको छ । चारमध्ये एक जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको र अरु तीन जनालाई आइसोलेशनमा राखिएको छ ।