सुनसरीका तीन मस्जिदबाट ३३ जना विदेशी फेला, प्रहरीले अनुगमन बढायो

इटहरी– सुनसरीका तीनवटा मस्जिदमा ३३ जना विदेशी रहको बताइएको छ । उनीहरूले तीनदेखि चार महिनाअघि नेपाल आएको बताएपनि लकडाउनको समयमा चोरबाटोहुँदै भारतबाट नेपाल आएको प्रहरीको अनुमान छ ।

 

बिज्ञापन

वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि सुनसरी प्रहरीले यहाँका मस्जिदमा बस्ने विदेशीमाथि अनुगमन बढाएको हो । सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित जामिया मस्जिदमा १४ भारतीय र इटहरी-१८ स्थित जतपुर मस्जिदमा ८ जना पाकिस्तानी फेला परेका हुन् ।

 

मस्जिदले गुपचुप राखेपनि स्थानीयले दिएको सुचनाका आधारमा उनीहरूबारे निगरानी बढाएर स्वास्थ्य परीक्षणमा कडाई गरेको छ । प्रारम्भिक परीक्षणमा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको प्रहरीले जनाएको छ।

 

सुनसरीकै दुहवी १ स्थित जामे मस्जिदमा ११ पाकिस्तानी मुस्लिम धर्मगुरु भेटिएका छन्। गत फागुन २४ गते पाकिस्तानबाट काठमाडौहुँदै सुनसरी आएका उनीहरुलाई मस्जिदभित्रै निगरानीमा राखिएको छ।

 

उनीहरू लकडाउन सुरु हुनुभन्दा एक दिनअघि चैत्र १० गते दुहबी आएका थिए। भारतीय र पाकिस्तानीहरुभन्दा धेरै बढी संख्यामा चोर बाटोहुँदै नेपालीहरु भारतबाट नेपाल छिरेको अनुमान गरिएको छ ।

 

मस्जिदमा रहेका विदेशी केही महिना अघि नै आएका सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए। सुनसरी आउने स्वदेशी तथा विदेशीलाई निगरानीमा राखिएको उनले जानकारी दिए।

 

गत साता सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका घर भएका ६ जना सप्तरीहुँदै नेपाल छिरेका थिए। उनीहरुलाई अहिले सप्तरीको बोदे बसाइनमा रहेको क्वारेन्टाइनमा राखिएको छ। खुला सीमाका कारण लकडाउनपनि मानिसहरु निर्बाध नेपाल प्रवेश गरिरहेका सुनसरीको सीमावर्ती कोशी गाउँपालिकाका अध्यक्ष ऐउव अन्सारी बताउँछन्।

 

सुनसरीको सीमावर्ती गाउँपालिका हरिनगराका अध्यक्ष गफार अन्सारीले पनि भारतसँगको ८ किलोमिटर खुल्ला सीमाबाट नेपाल छिर्न सहज भएको बताए। उनका अनुसार नेपाल भित्रिनेहरु खेत खेतबाट आउने गरेका छन्।

 

उनीहरूलाई रोक्न र विस्तृत सुचना लिन गाह्रो भएको अन्सारीको भनाई छ। सीमा क्षेत्रमा सतर्कता बढाउन सशस्त्र प्रहरीले प्रदेश १ का चार जिल्लाका १ सय ५१ स्थानबाट सीमा क्षेत्रको निगरानी गर्न थालेको छ।

 

इलाममा ७, सुनसरीमा ५१, मोरंगमा ३५ र झापाका ५८ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। पाँच दिनयता मात्रै ३ सय ५० जना सुरक्षाकर्मी थपिएको सशस्त्र प्रहरी बल नं. १ बराहबाहिनी प्रमुख नगेन्द्र थापाले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमण बढेपछि पूर्वका सीमा क्षेत्रमा ३ हजार ५ सय सशस्त्र प्रहरी परिचालित छन्।