राहत वितरणमा भइरहेको भीड हटाउन मुख्यमन्त्री राईको निर्देशन

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकाय प्रमुखलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन् ।

 

बिज्ञापन

शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् ।

 

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइँचो बढ्दा कोरोनाको संक्रमण भए अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले ‘डेलिभरी भ्यान’को व्यवस्था गरेर राहत वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

 

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्न समेत मुख्यमन्त्री राईले सुरक्षा निकायलाई निर्देशन दिए ।

 

त्यस्तै, उनले मानिसलाई आवतजावत गर्ने पास वितरणमा कडाइका साथै अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन दिए ।

 

संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राईले नयाँ योजनाका साथमा नाकामा कडाइ गरिने बताए ।

 

उनले प्रदेश–१ लाई सुरक्षित राख्न सबै निकायले आफ्नो ठाउँमा स्रोतसाधनको अधिकतम सदुपयोग गर्नुपर्ने बताए ।

 

शुक्रबारदेखि प्रदेशले र्‍यापिड टेस्ट सुरु गरेकाले क्वारेन्टाइनमा बसेका सबैको टेस्ट गरिने र स्वाब परीक्षण कोशी अस्पतालबाटै दैनिक १ सय वटा टेस्ट गरिने उनले बताए ।

 

प्रदेश–१ का २० देखि ३० हजारको र्‍यापिड टेस्ट र एक हजार बढीको स्वाबको चाँडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताए ।