गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध सुरु ; प्रधानमन्त्री बन्ने वामदेवको हठ फेरि पनि भुमरीमा

काठमाडौं : सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ।

 

बिज्ञापन

झ्यालबाट संसद प्रवेश गर्ने गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध सुरु भएको छ। शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो ।

 

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्था परिवर्तन गर्न नेकपाले कार्यदल बनाएको थियो। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाइए पनि यो विषय गोप्य राख्ने निर्णय पार्टीले गरेको थियो।

 

तर, संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्बाङले ठाडै अस्वीकार गरेपछि वामदेवको सपना फेरि पनि भुमरीमा पर्ने सम्भावना बढेको छ। सोमबार नेता नेपालसँग भएको छलफलमा नेम्बाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्न माधव नेपाललाई पनि सुझाब दिएका छन्।