डाक्टरको लापरवाहीका कारण गर्भपतन गराउँदा शिशुको अवशेष महिलाको पेटमा

जनकपुरधाम : डाक्टरको लापरवाहीका कारण महोत्तरीमा एक महिलाको पेटमा शिशुको अवशेष छुटेपछि उनको अवस्था गम्भीर भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २५ वर्षीया चन्दा देवीले ७ महिना पहिले गर्भमै बच्चाको मृत्यु भएपछि गरिएको गर्भपतनको क्रममा उनको पेटमा बच्चाको शरीरको अवशेष छुटेको थियो ।

 

बिज्ञापन

गत असार १० गते चन्दाको गर्भमै शिशुको मृत्यु भएको थाहा पाएपछि चन्दा डा.रामनरेश पण्डितले सञ्चालन गर्दै आएको जनकपुर सिटी अस्पतालमा गर्भपतन गराएकी थिइन् ।

 

७ महिने बच्चा गर्भमै मृत्यु भएपछि चिकित्सकको सल्लाहमा गर्भपतन गरेकी थिइन् । त्यसयता उनी पटक–पटक विरामी पर्दै आइरहेकी छन् । चन्दा विरामी भएपश्चात डा.पण्डितले उनको नियमित रुपमा उपचार गर्दै आएको उनका पति राजेश पाण्डेले बताए ।

 

गर्भपतनपछि पटक–पटक विरामी हुँदै आएकी चन्दालाई पछि डा.आर एन झासँग पनि चेकजाँच गराउँदा पेटमा बच्चाको अवशेष रहेको पुष्टि भएको उनले जानकारी दिए ।

 

उपचारको लागि भर्ना भएकी चन्दाको गत माघ २३ गते अप्रेशन गरेर पेटबाट बच्चाको शरीरको अवशेष झिकेको पाण्डेले जानकारी दिए । डाक्टरद्वय पण्डित र झाको लापरवाहीले लामो समयसम्म बच्चाको अवशेष आमाको पेटमा रहेका कारण अहिले उनको अवस्था गम्भीर भएको छ ।

 

महिलालाई उपचारका लागि अहिले काठमाडौंस्थित भ्याली नर्सिङ्ग होममा राखिएको छ ।

 

काठमाडौंबाट उपचार गराएर फर्केपछि डाक्टर पण्डित र झाविरुद्ध प्रहरीमा उजुरी दिने पीडित चन्दाका पति पाण्डेले बताए ।