
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ ।




जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि गएको सीआईबीको टोली र धनगढीबाट गएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो ।

मंगलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिएकाेमा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र १ २ किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
घटनास्थलमा काठमाडौँदेखि आएका सीआईबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा ३ र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा ६ जना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ ।
यस्तै, अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।
मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका ७ जनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीको भनाइ छ ।
विनायक बजार बन्द
घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन् ।
विनायक बजारका पसलहरु बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ । वडाध्यक्ष धामीको हत्या भएको २ दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
मंगलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए ।