महालेखा नियन्त्रकको कार्यालयको सबै तथ्यांक ह्याक , सीआईबीले थाल्यो अनुसन्धान

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक ह्याक भएको छ । मंसिर १२ गतेदेखि ४ पुससम्मको सबै तथ्यांक ह्याकरको कप्जामा परेको हो ।

 

बिज्ञापन

महालेखा नियन्त्रक कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा रहेको तथ्यांक ह्याकर समूहका कारण नस्ट भएको छ ।

 

यस प्रणालीमा स्थानीय तहको सबै हर हिसाब देखि बजेट समेत राखिएको हुने गर्छ । ह्याकर समूहले तथ्यांक ह्याक गरेपछि १२ मंसिर देखि ४ पुससम्मको तथ्यांक फेरी इन्ट्री गर्नु पर्ने भएको महालेखाको विज्ञप्तीमा भनिएको छ ।

 

जसको कारण स्थानीय तहका लेखा कर्मचारीको सरुवा समेत प्रभावित भएको महालेखाले जनाएको छ ।

 

सीआईबीले थाल्यो अनुसन्धान

 

महालेखाको स्थानीय तथ्यांक संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) ह्याक भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।

 

स्थानीय संचित कोषको तथ्यांक ह्याक भएको निवेदन महालेखाले सीआईबीलाई दिएपछि ५ पुस देखिनै ह्याक भएकोबारे सीआईबीले अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।

 

‘के उदेश्यले ह्याकर समूहले तथ्यांक ह्याक गरे त्यो अनुसन्धानकै क्रममा छ, हाम्रो प्राविधिक टोलीले अनुसन्धान गर्दै छ,’ एसपी पाण्डेले भने ।

 

सीआईबीका अनुसार महालेखा नियन्त्रकको तथ्यांक संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) कमजोर भएको कारण सजिलै ह्याकर समूहको कब्जामा परेको अनुमान गरेको छ ।यो समाचार कृष्णसिंह लोथ्यालले शिलापत्र अनलाइनमा लेख्नुभएको हो ।