नेकपाको स्थायी कमिटीको बैठकमा प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

काठमाडौ : आज (आईतबार) बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले वैठकमा आफूले तयार पारेको राजीनितक प्रतिवदेन पेश गरेका हुन् ।

 

बिज्ञापन

वैठकमा प्रस्तुत प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषयहरु समावेश छन् । पार्टी एकतापछि दोस्रो पटक स्थायी कमिटी वैठक बसेको हो । वैठकमा १६ पृष्ठ लामो प्रतिवेदन पेश गरेका प्रचण्डले समयमा पार्टीका वैठकहरु आयोजना गर्न नसकेकोमा आत्मआलोचना गर्दै अब नियमित रुपमा वैठकहरु बस्ने प्रतिबद्धता पनि जनाएका छन् ।

 

बैठकको सुरुमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठक र विविध विषयमा छलफल हुने कार्यसूची प्रस्तुत गरेका थिए ।

 

‘बैठकको आरम्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामनासहित प्रस्ताव पारित गरिएसको छ । उहाँ छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी काममा सक्रिय हुने विश्वाससमेत व्यक्त गरिएको छ ।’ – प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठकपछि भने ।

 

आजको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको र विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा मुख्य ७ विषयलाई जोड दिइएको छ । प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछि पार्टी सुदृढीकरण अभियान, सरकारको कामको समिक्षा र उपचुनावको समिक्षा लगायतका विषय उल्लेख गरिएको छ ।

 

प्रचण्डले पेश गरेको प्रतिवेदनमा जनताको आशा र अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै ६ बुँदे सुझाव समेत दिईएको छ । त्यस्तै सरकारका उपलब्धिका रुपमा ७ बुँदा उल्लेख गर्दै अनेकौ चुनौतीका बावजुद संविधान कार्यान्यवन, विकास निर्माण, सामाजिक न्याय, आर्थिक वृद्धि र वैदेशिक सम्बन्ध विस्तारमा उल्लेख्य सफलता मिलेको प्रतिवेदनमा भनिएको छ ।

 

त्यस्तै तीनतहका सरकारलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ । स्थानीयदेखि केन्द्र सरकारका कामका सम्बन्धमा जनगुनासो आईरहेको भन्दै प्रतिवेदनमा जनताले अनुभुत हुनेगरी कार्यक्रम ल्याउन सुझाव दिईएको छ । शुसासन, भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्दै जनतालाई ठोस परिणाम दिनेगरी योजनाहरु अघि सार्न पनि प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा सहरका सडकको खाल्डो पुर्नेदेखि धुवा, धुलो रोक्ने र जनताका दैनिक जीवनमा सुधार हुने कार्यक्रम अघि सार्न पनि प्रतिवेदनमा भनिएको छ ।

 

प्रचण्डले १६ पृष्ठ लामो प्रतिवेदनमा आगामी कार्ययोजना सम्बन्धि कार्यक्रमसमेत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।