आफ्नै घरमा गाउँपालिकाको कार्यलय राखेर भाडा असुल्दै दुई अध्यक्ष

संघीयता कार्यान्वयनका क्रममा ७ सय ५३ वटा स्थानीय सरकार गठन भएका छन् । यसलाई सत्तारुढ दल र सरकारले गाउँगाउँमा सिंहदरबार भनेर अर्थ्याएका छन् । तर, कतिपयले गाउँमा ‘सिंह’मात्रै पुगेको र ‘दरबार’ पुग्न बाँकी नै रहेको टिप्पणी गर्ने गरेका छन् ।

यस्तै टिप्पणीलाई बल पुर्याएका छन्, कर्णालीका केही स्थानीय तह प्रमुखले ।

बिज्ञापन

दैलेखको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर र कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले प्रक्रिया नपुर्याइ गाउँपालिकाको कार्यालय आफ्नो घरमा ल्याएर भाडा असुलिरहेका छन् ।

नौमुलेका स्थानीय शशी विश्वकर्माले अध्यक्षका लागि मात्रै गाउँमा सिंहदरबार आएजस्तै भएको बताए । ‘गाउँपालिकाको अध्यक्ष आफैं, आफ्नै घर भाडामा ?’ उनले भने, ‘अरु ८ जनाले पनि घर भाडामा लाउने आशय देखाएका थिए ।’

गाउँपालिकाले कुनै पनि सूचना नै नगरी अध्यक्षको घर भाडामा लिएको उनीजस्तै अरु स्थानीयको पनि गुनासो छ ।

तर, गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश कोइराला भने गाउँपालिकाको आफ्नै भवन नभएका कारणले अहिले अध्यक्षको घरमा भाडा लिएर काम भइरहेको र यो प्रक्रिया पुर्याएरै गरिएको दाबी गर्छन् । ‘गाउँपालिकाको कार्यालय सञ्चालन, जनप्रतिनिधिको बैठक कक्ष, न्यायिक समितिका लागि भनेर अध्यक्षको घर भाडामा लिइएको हो,’ उनले भने, ‘प्रक्रिया पुर्याएरै घर भाडामा लिइएको छ ।’

गाउँपालिकाले घर भाडाका लागि सूचना आह्वान गर्दा ८ घरधनीले आशयपत्र पेस गरेको अध्यक्ष बुढा मगरले बताए । ‘तर, तीमध्ये गाउँपालिका मैले नै सस्तोमा घर भाडामा दिएकाले त्यही निर्णय भएको हो,’ अध्यक्ष बुढामगरले भने ।

गाउँपालिकाले भाडामा लिएको अध्यक्ष बुढा मगरको घर ८ कोठे हो । प्रतिकोठा २५ सयका दरले भाडा दिने गरी गाउँपालिकाले आफ्नो घर भाडामा लिएको अध्यक्ष बुढा मगरले बताए । ‘८ वटा कोठा भएको मेरो घर छ,’ उनले भने, ‘मैले १३ प्रतिशत कर कटाएर भाडा लिने छु ।’

त्यस्तै, कालिकोटको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले प्रक्रिया मिचेर आफ्नो घरमा गाउँ कार्यपालिकाको कार्यालय राखेका छन् । घर भाडामा लिने/दिने विषयमा कुनै सूचना नै ननिकाली उनले आफ्नो घर गाउँपालिकालाई भाडामा लगाएका हुन् ।बमले वडा नं. ९ को थिर्पुमा रहेको घरको १२ वटा कोठा गाउँपालिकालाई भाडामा लगाएका स्थानीयवासी बताउँछन् ।

जनप्रतिनिधिले यसो गरेकोलाई धेरैले पदको दुरुपयोग भनेका छन् । घरभाडा बापत बमले मासिक पचास हजार रुपैयाँ बुझ्दै आए छन् ।

गाउँपालिकाको कार्यालयका लागि अध्यक्षको घर भाडामा लिइएको भए पनि त्यसको भाडा कति हो भन्ने आफूलाई जानकारी नभएको निमित्त कार्यकारी प्रमुख राजबहादुर बमले बताए । ‘अध्यक्षकै घरमा कार्यालय भए पनि भाडा कति छ मलाई थाहा छैन,’ उनले भने, ‘लेखालाई भाडाको बिषयमा थाहा होला ।’शिलापत्रबाट।