नेकपाका केन्द्रीय सदस्यले खाए कुटाइ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नीरज आचार्यलगायतको टोलीमाथि बुधबार विहान अज्ञात समूहले आक्रमण गरेको छ । जाजरकोटको बारेकोट गाउँ कमिटीको शपथ ग्रहण तथा प्रथम बैठकमा सहभागी हुन गएको आचार्यसहितको टोलीलाई लैखम भीरमा आक्रमण गरिएको हो ।

आक्रमणबाट केन्द्रीय सदस्य आचार्यसहित प्रदेश कमिटी सदस्य डम्बर सिंह र शील बस्नेत पनि घाइते भएको नेकपा जाजरकोटले जनाएको छ । आक्रमणबाट सामान्य घाइते लागेपनि कसैलाई गम्भिर चोट भने लागेको छैन । सबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको नेकपा जनाएको छ ।

बिज्ञापन

केन्द्रीय सदस्यसहित १० जनाको टोली विहानै बारेकोट गाउँपालिकातर्फ जान लागेको बेला ४ जनाको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रविन्द्रबहादुर सिंहले बताए ।

‘आक्रमणपछि घटनास्थलमा प्रहरी पुगिसकेकोे छ । अहिले त्यहाँको अवस्था सामान्य छ,’ उनले भने, ‘१० जनाको टोलीमाथि ४ जनाको समूहले आक्रमण गरेको थाहा भएको छ । तर, आक्रमणकारी को हुन् भन्ने पत्ता लागेको छैन ।’

कसैले पनि पहिचान गर्न नसकेका कारण आक्रमणकारी को हुन् भन्ने पत्ता लगाउन समय लागेको तर, अहिले उनीहरुको खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।

शिलापत्रबाट।