सडकसम्बन्धि विवाद हुँदा चालकले चलाए मान्छेमाथि डोजर

सामाजिक सञ्जालमा अहिले मान्छेमाथि डोजर चलाईरहेको भिडियो भाइरल बनेको छ । बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका– ९ मा सडकसम्बन्धी विवाद हुँदा चालकले मान्छेमाथि डोजर चलाए ।

नगरपालिकाले सुन्नाखानदेखि पार्ससम्मको सडक निर्माण योजना बनाएको थियो । सडक निर्माणको जिम्मा स्थानीय उपभोक्ता समितिले पाएको थियो । कार्य रोक्न स्थानीयले बारम्बार आग्रह गर्दै आएका थिए । यो सडक खण्डअन्तर्गत अन्य स्थानमा खासै विवाद नभए पनि ग्वाल्लेकको केही जग्गाको अंशबन्डा नभएकाले केही समय सडक निर्माण रोक्न स्थानीयवासीले आग्रह गर्दै आएका थिए ।

बिज्ञापन

सडक निर्माण केही समय स्थगित गनुपर्‍याे भन्ने निवेदनसहित स्थानीयवासी नगरपालिका कार्यालयमा पनि पुगेका थिए । तर, सोमबार एकाएक सडक निर्माण पक्षले डोजर चलाउँदा सडक लैजान नदिने पक्षले विरोध गरेका हुन् । त्यसपछि डोजर चालकले विरोधमा उत्रिएका स्थानीयवासीमाथि नै डोजर चलाए ।

नगरपालिकाको योजनाअन्तर्गत सुन्नाखानदेखि पार्ससम्मको सडक निर्माण स्थानीय उपभोक्ता समितिले गर्दै आएको छ । सडक निर्माण हुने जमिनको केही भागमा स्थानीयवासीको अंशबण्डासम्बन्धी कुरा मिलेको थिएन । जग्गाको अंशबण्डा बाँकी रहेको कुरा नगरपालिका र सडक निर्माणको जिम्मा पाएको उपभोक्ता समितिलाई पनि जानकारी थियो ।

नगरपालिकाको रोहबरमा समिति र स्थानीयवासीबीच जग्गाको अंशबण्डा मिलेपछि मात्रै सडक निर्माणको काम सुरु गर्ने सहमति पनि भएको बताउँछिन् नगरपालिकाकी उपमेयर मीना चन्द । सहमतिविपरीत उपभोक्ता समितिले ‘दादागिरी’ गर्दै सडक निर्माण गर्न खोज्दा स्थानियवासी विरोधमा उत्रिएका थिए ।

तर, सडक निर्माणको जिम्मा पाएको उपभोक्ता समिति भने स्थानीयले डोजरमा एक्कासि ढुंगामुढा गरेको आरोप लगाउँछ । ‘सडक निर्माण हुने ठाउँमा देवताको गुठी थियो । यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि अर्को पक्षले जबर्जस्ती गरेको हो’, समितिका अध्यक्ष केशवदत्त जोशी आरोप लगाउँछन् ।

स्थानियवासीमाथि डोजर चलाएपछि स्थानीयले डोजरमा ढुंगामुढा पनि गरेका थिए । सडक निर्माणको विषयमा पहिलेदेखि नै विवाद रहेको बताउँछन् नगरपालिकाका मेयर नरेन्द्रसिहँ थापा । आफूले सहमति गरेर मिलेर काम गरौं भनेको तर उपभोक्ता समिति र स्थानीयवासीले आफ्नो कुरा कसैले नसुनेको बताउँछन् थापा ।

सडक निर्माणबारे भएको विवादबारे दुवै पक्षसँग छलफल गरेर टुंगो लगाउने निर्णयमा पुगेको बताएका छन् बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले । विरोधमा उत्रिएका स्थानीयमाथि चालकले डोजर चलाउँदा आठजना घाइते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार डोजरको बकेटले हान्दा ३५ वर्षीय गौरी जोशी गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइेते जोशीको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

डोजरले हान्दा घाइते भएका सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशीको उपचार भइरहेको छ ।

सडक निर्माणको विषयमा विमति राख्ने पक्षसँग सल्लाह नै नगरी डोजर चलाउँदा स्थानीय आक्रोशित भएको बताउँछन् स्थानियवासी दुर्गादत्त जोशी । ‘हामीसँग सल्लाह नै नगरी हाम्रो जमिनमा डोजर चलाए, ’ जोशी भन्छन, ‘डोजर नचलाउ् भन्न गएका हामीमाथि नै डोजर चलाए ।’

शिलापत्रबाट