
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापालाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो।

बैठकले थापाको एकल नाम सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताए। थापासँगै समानुपातिकतर्फ सिफारिस भएका नामहरु आज औपचारिक रुपमा जिल्ला समितिमा पठाउने उनले बताए।



समानुपातिकमा राजु श्रेष्ठ , कर्मा छिरिङ, ध्रुव थापा, सीता दाहाल, रोहित पौडेल, राजाराम कपाली, पुरुषोत्तम दाहालको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए।

यसअघि थापाको नाम कास्की १ बाट पनि सिफारिस भएको थियो। तर थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। थापा २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
त्यसबेला वाम गठबन्धनका उम्मेदवार रहेका एमाले नेता राजन भट्टराई थापासँग पराजित भएका थिए। उक्त निर्वाचनमा ३ हजार ४१८ मतान्तरले भट्टराईलाई पराजित गर्दै थापा विजयी भएका थिए।